संझिप्त परिचय

मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम एवं सुर्खेत जिल्लाको जिल्ला सदरमुकामका रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाको स्थापना वि.सं. २०३३ सालमा सुर्खेत उपत्यकाभित्र पर्ने कटकुवा, गोठीकाँडा र जर्बुटा गाँउपञ्चायतभित्र पर्ने केही भागलाई मिलाएर वीरेन्द्रनगर नगरपञ्चायतका रुपमा भएकोमा मिति २०७१।०१।२५ गते नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम यस नगरपालिकामा छिमेकका उत्तरगंगा र लाटीकोइली गा.वि.स. समेत समावेश भएका थिए । साथै मिति २०७१।०८।१६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णयानुसार पुनः जर्वुटा गा.वि.स.लाई समेत गाभेर हाल यस न.पा.लाई २४ वटा वडामा विभाजन गरिएको छ ।  यो नगरपालिका  नेपालको राजधानी काठमाण्डौं देखि लगभग ६०० कि.मी. उत्तर पश्चिममा समुन्द्री सतहबाटलगभग ६६५ मी. मा अवथित छ । यस नगरपालिकाले उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानाङ्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीको मनोरम पहाडद्वारा घेरिएको कचौरा आकारमा दक्षिणतर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मी हुने सुन्दर सुर्खेत उपत्यकालाई समेटेको छ। नगरपालिकाको विस्तार अघि ३६ वर्ग कि.मी. क्षेत्रफल ओगटेकोमा हाल न.पा.को कूल क्षेत्रफल १६९ वर्ग कि.मी. रहेको छ । यस नगरपालिका पूर्वमा रतु र साटाखानी गा.वि.स., पश्चिममा हरिहरपुर गा.वि.स., कुनाथरी गा.वि.स र लेखगांउ गा.वि.स., उत्तरमा गढी गा.वि.स. र दैलेख जिल्लाको गोगनपानी गा.वि.स. तथा  दक्षिणमा भेरी नदी रहेका छन् ।

वीरेन्द्रनगर नगरपालिकामा वि.सं. २०२२ मा विमानस्थल स्थापना भई नियमित उडान र वि.सं. २०३८ मा रत्नराजमार्ग सडक निर्माण कार्य सम्पन्न भई नियमित रुपमा सडक यातायात सेवा शुरु भएपश्चात् वीरेन्द्रनगर कर्णाली अञ्चलका जिल्लाहरुको प्रवेशद्वारका रुपमा स्थापित भएको छ । कर्णाली अञ्चलमा उपभोग हुने सम्पूर्ण सामग्री वीरेन्द्रनगरबाट जाने हुंदा यो यस क्षेत्रको प्रमुख व्यापारिक केन्द्र समेत बन्नपुगेको छ । यसको पूर्वबाट भेरी नदी र पश्चिमबाट कर्णाली नदी बगेकोले ¥याफ्टीङ् गरी आनन्द लिन आउने पर्यटकहरुका लागि समेत यो आकर्षक स्थलको रुपमा परिणत हुनपुगेको छ ।

पहिले चौहानचौर र २०२९ सालपछि वीरेन्द्रनगरको नामले परिचित यो नगरपालिका नेपालका राम्रा योजना भएका नगरपालिका मध्येको एक हो । स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्रबाट देशको सन्तुलित विकासको निम्ति चार विकास क्षेत्र विभाजन गर्दा वीरेन्द्रनगर सुदूर पश्चिमाञ्चलविकास क्षेत्रको सदरमुकाम घोषणा गरिएको थियो भने हाल मध्यपश्चिमाञ्चलविकास क्षेत्रको सदरमुकामका रुपमा रहेका छ। वीरेन्द्रनगरको भौतिक विकास योजना स्व. श्री ५ वीरेन्द्रकै निर्देशनमा एक उच्चस्तरीय प्राविधिक टोलीद्वारा तयार गरी २०२९ सालमाघ १६ गते वीरेन्द्रनगर नगरयोजना स्वीकृत गरी कार्यान्वयन गरिंदै आएको छ । पेरिस जस्तो सुन्दर शहरको रुपमाविकास गर्ने लक्ष्य लिई बनाइएको वीरेन्द्रनगरको गुरुयोजनालाई मूर्तरुप दिन वीरेन्द्रनगरका विभिन्न मा आवश्यक जग्गा अधिग्रहण गरिएको छ । सो कार्यान्वयन पूर्णरुपमा हुंदानहुंदै नगरपालिकालाई अर्को सम्भावना र चुनौती दुवैका रुपमा छिमेकी गा.वि.स. लाटीकोइली ,उत्तरगंगा र जर्वुटा वीरन्द्रनगरमा समावेश भएका छन् । यतिखेर वीरेन्द्रनगरका १ देखि १२ वडाको सडक गुरुयोजना कार्यान्वयनमा आइरहेको छ भने नयां थपिएका वडामा सडकगुरुयोजनाविना नै बस्ती विकास भइरहेको छ । तथापि वीरेन्द्रनगरको परिकल्पना “शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर” संग प्रत्यक्ष सम्बन्धित सुर्खेत उपत्यका पुरैलाई नगरपालिका बनाउने सरकारको निर्णयलाई वीरेन्द्रनगर नगरपालिकाले सहर्ष स्वीकार्दै नगरपालिकाको परिकल्पनालाई साकार पार्न जुटेको छ ।